चित्रकलाको बढ्दो मूल्य

समाचार

काठमाडौँ, १३ पुस । आधुनिक कलाकार समाज (सोमा) को आयोजनामा नेपाल कला परिषद्, बबरमहलमा चलिरहेको ‘कलापुञ्ज– चौथो’ बृहत् कला प्रदर्शनीमा राखिएको शङ्करराजसिंह सुवालको ‘शान्ति’ शीर्षकको तैलरङको चित्र रु दुई लाख पचास हजारमा बिक्री भएको छ ।

त्यस्तै सोमाका सचिव शान्तकुमार राईको ‘दुई महिला र शङ्ख’ शीर्षक एक्रेलिक रङको चित्र रु ७५ हजार र सोमाकै ८२ वर्षीय सदस्य चिनीकाजी ताम्राकारको ‘माछापुच्छ«े’शीर्षक तैलरङको चित्र रु ३५ हजार बिकेको छ । ती सबै चित्र बैंकर पृथ्वीबहादुर पाँडेले खरिद गर्नुभएको हो । सरदार भीमबहादुर पाँडेका सुपुत्र पृथ्वीबहादुरले नेपाली कला र कलाकारलाई प्रोत्साहन गर्नका लागि नेपाली परम्परागत र आधुनिक चित्रहरू सङ्कलन गर्दै आउनुभएको छ ।

यसअघि बाङ्देलको ‘सपनाहरू’ शीर्षक चित्रकला रु साढे पाँच लाखमा कान्ति न्यौपानेको ‘दिङ्ला’शीर्षक चित्र र रमाराज मास्केको ‘हिमाल’शीर्षकको भूदश्य चित्र रु ३५, ३५ हजारमा बिक्री भइसकेको छ । प्रदर्शनीमा चित्र सङ्कलनकर्ता र दर्शकहरू आउने क्रम रहिरहेको सोमाका सचिव राईले बताउनुभयो ।

यही पुस १६ गतेसम्म चल्ने प्रदर्शनीमा बाङ्देलका विभिन्न समयका १५ शिष्य कलाकारका साथै बाङ्देल स्वयम्का तीन गरी ९० चित्र राखिएका छन् । आधुनिक नेपाली चित्रकलाका पिता लैनसिंह बाङ्देल(१९२४–२००२)को ९०औँ जन्मजयन्ती (२१ डिसेम्बर)का उपलक्ष्यमा यही पुस ६ गते सो प्रदर्शनी आरम्भ गरिएको हो । रासस

Post Comment